अभिन्न


२.

फेसबुकको टुप्पोमा सजाएर राखेको रिक्वेस्टको जवाफ खै किन हो, म पुरा २ दिनपछि मात्र दिन्छु|

“हाई, के छ?” नरेन अनलाइनै रहेछ|

“बाँचिएकै छ”, फेरी त्यहि उत्तर| बानी नै पो परिसकेछ मेरो|

“केहि नयाँ-नौलो?”

म एकछिन सोच्छु, के नयाँ छ मेरो जिन्दगीमा? हुन त कुरा नभएका यी तीन वर्षमा धेरै कुरा भइसके, धेरै कुरा फेरिसके, उसले सुन्दा जे पनि नौलो नै हुन्छ होला| तर मलाई भने १०-२० चोटी अरु साथीहरुलाई सुनाइसकेको कुरा फेरी भनिराख्न फिटिक्कै मन लागेन| भने पनि कहाँबाट कसरी सुरु गर्ने|

“केहि नयाँ छैन| बरु थ्यान्क्यु है नरेन! अस्ति राम्ररी कुरा नि गर्न पाइन|”

जवाफमा उसले एउटा स्माइली मात्र पठाउँछ| केहि भन्छ कि भनेर म कुरीरहन्छु, अँह अरु केहि भन्दैन|

“अनि अरु…” टाइप गर्दागर्दै औंला रोकिनछन् मेरा| लेखेको जति पनि मेटाएपछि, निकैबेर मेरा औंला किबोर्डमाथि नाच्छन्, मानौं मुनिका अक्षरलाई जिस्काएझैँ गरी| तर अँह, न मैले केहि लेख्छु, न उसले| ५ मिनटपछि म च्याटबक्स नै बन्द गरी अरुसँग बोल्न थाल्छु|

एकैछिनमा ट्वाङ्ग गरी एउटा नयाँ मेसेज आउँछ, नरेनको|

“सरी, म यो फोटो खोज्न गएको थिएँ|”

फोटो खुल्न अलि लामै समय लाग्छ | एक त ए.डी.एस.एल त्यसमाथि घर पनि रिंगरोडभन्दा कम्तिमा पनि ६ कि.मि. टाढा छ, अनि कहाँबाट राम्ररी टिपोस| तर भन्नु मात्र हो, काठमाडौँको मुटुमै बस्नेहरुले पनि निकै दुख पाएका सुनेको छु| फोटो बल्लतल्ल खुल्छ, फोटो हेर्ने बितिक्कै खुसी लाग्छ, रमाइलो लाग्छ| ४ वर्ष अगाडिको यो फोटो हेर्दा कसले भन्न सकोस् यसमा भएका ५ जिग्रीहरु सब आ-आफ्नै बाटो लागिसके भनेर| कति रमाइलो र न्यानो फोटो| सबैजना कति अभिन्न, कति खुसी देखिन्छन्|

हामी त्यो कलेज मुनिको होटलमा जान पनि दिनकै जान्थ्यौं र दिनकै ग्यांगमा भएको एउटा मात्र स्मार्ट फोनले फोटो खिच्थ्यौं| नरेनकै थियो त्यो फोन|

“तिमीसंग अझै छ यो फोटो?”

“छ नि, अरु पनि हुनुपर्छ| यो चाहिँ अस्ति भेट्टाएको थिएँ”

“कसैसँग कुरा हुन्छ तिम्रो?”

निकैबेर नरेनले जवाफ दिदैन| म कुरिरहन्छु|

“ त्यो दिनपछि? अँह! तिमीहरु नि कोहि बोल्न आएनउ, मैले नि माया मारिदें”

यसपाली मेरो पाली थियो स्माइली पठाउने| भन्नलाई पनि त केहि थिएन|

अभिन्न

१.

“के छ?”

“बाँचिएकै छ!”

सजिलो प्रश्नको कति सजिलो उत्तर| एकछिन पनि कुर्दिन म, एकछिन पनि सोच्दिन, उसलाई जवाफ फर्काउन अघि| हुनपनि उसले सोध्नकै लागि त सोधेको हो| ऊ मेरो हालखबर जान्न त्यति नै थोरै इच्छुक छ, जति म उसको बारे जान्न| मान्छे नै त हौँ|

“तिम्रो के छ”, सोध्न कै लागि सोध्छु म पनि|

“त्यस्तै हो, बाँचिएकै छ|”

“ल अहिले हत्तारमा छु, फेसबुकमा कुरा गरौँला|” अप्ठेरो हुनु अघि टाप कस्न खोज्छु म|

“अँ, म पनि..”

हामी दुबैजना ङ्गिच्च हाँस्छौँ र आ-आफ्नो बाटो लाग्छौं| दुबैलाई थाहा छ, संयोगले भेट त भयो, तर जसरि गएको ३-४ वर्ष कुरै नभई बित्यो, अझै आउँदो १० बर्ष कुरै नभए पनि दुबैलाई खासै फरक पर्दैन|

पार्किंग लट मा स्कूटर खोजुन्जेल, मैले उसलाई भेटेको नि बिर्सिसकेछु| आज फेरी कुनचाहिँले मेरो स्कूटरलाई न्याक्क हुनेगरी च्यापेर पार्क गरेछ| त्यत्रो ठुलो, हेर्दै मरुन्जेल भारी देखिने बाइक म एक्लै कसरी पन्छ्याउनु? वरीपरी हेर्छु, निउरोड़ त हो कोहि न कोहि त भेटिहालिन्छ नि, कसैले त पक्कै सहयोग गर्छ| ठुलठुला ज्यान भएका, दुई तिन जना मलाई आँखा मै हेर्छन तर केहि भन्नु अघि नै फुत्किन्छन्| एकछिन आफ्नो स्कूटरलाई टोलाएर हेरिरहन्छु, केहि समाधान निस्किहाल्छ कि| हुन त म आफूलाई निकै स्मार्ट सोच्छु, तर केहि जुक्ति लगाउन सक्दिन|

“स्मृति!” झस्किन्छु म|

“ ए! हाई, आज त भेटेको भेटै हुने भयौं”

“ के भयो? स्कुटर अड्क्यो कि क्या हो?”

“अँ, निकाल्दिन सक्छौ?”

उसले त्यो भारी पल्सरलाई अलिकति साइड लगाई, मैले स्कुटर नानिकालुन्जेल समातिरहन्छ|

“थ्यांकयु, नरेन”

ऊ हाँस्छ| अरु केहि भन्नु अगाडी नै पछाडीबाट अर्को बाइक आएर ट्वाँ-ट्वाँ र प्वाँ-प्वाँ गर्छ| तुरुन्त हेल्मेट लगाई म त्यँहाबाट निस्किन्छु|

कस्तो अचम्म छ जिन्दगी| त्यत्रो २ वर्ष प्लस-टुमा सँगै पढ्यौं, सँगै डुल्यौं, सँगै बद्मासी पनि गर्यौं, अनि चट्टै माया मारेर आ-आफ्नो बाटो लाग्यौं एकअर्का को अस्तित्व नै बिर्सने गरी| आज भेटेपछि पो “ए हामी त ग्यांग पो थियौं त” जस्तो भयो|

घर पुग्नसाथ, ब्याग हुर्राएर भान्छामा गई चिया बसाल्छु र फोनमा फेसबुक खोल्छु| नरेन ताम्राकारलाई खोज्छु| किन हो झनक्क रिसउठ्छ| ऊ त मेरो फ्रेन्ड लिस्ट मै छैन रहेछ| फेसबुक बन्द गरी टीभी हेर्न बस्छु म| बिचमा खानकै लागि मात्र उठ्छु, नत्र अँह!

“कान्छी, सुत्न पर्दैन? भोलि अफिस छैन तेरो?”

“ सुत्छु म!” निकै ठुलो स्वरमा कराउँछु| एकछिन रिसमा बर्बराई, आमाले आँखा तरेर जानुहुन्छ|

हुन पनि ११ बजिसकेको रहेछ| टिभी बन्द गरी कोठामा त जान्छु तर सिरकमा घुस्रिने बितिक्कै के निन्द्रा लाग्थ्यो र? फोन निकाली फेरी फेसबुक चलाउन थाल्छु| नयाँ फ्रेन्ड रिक्वेस्ट आको रहेछ, नरेन कै|